
काठमाडौं– एक युवकको हत्या आरोपमा कञ्चनपुरमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
गत २४ कात्तिकमा झुन्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार वडाध्यक्षसँगै स्थानीय शुकदेव राना, भङ्गी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना पनि पक्राउ परेका छन्।
मृतकका बुबाले ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुन्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए।
उनीहरूलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ। पक्राउ परेका ६ जना नै घटना भएको दिन मृतक रानासँगै रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।













