News Griha :: न्यूजगृह
शाहबाज बने पाकिस्तानको २४ औं प्रधानमन्त्री

काठमाडौं– पीटीआई समर्थक उम्मेदवार उमर अयुबलाई पराजित गर्दै शाहबाज सरिफ पाकिस्तानको २४ औं प्रधानमन्त्री बनेका छन्। उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाए। ९२ सांसदले विपक्षमा भोट दिए। शाहबाज नवाज सरिफका भाइ हुन्।

प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन्। तर, १ घण्टा २४ मिनेटको भाषणको सुरुमै शाहबाजको जिब्रो चिप्लियो। उनले आफूलाई प्रधानमन्त्रीको सट्टा विपक्षी दलको नेता भन्न पुगेका थिए।

सम्बोधनका क्रममा शाहबाजले भने, ‘इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। कश्मीरमा मानिस मारिने क्रम जारी छ। प्यालेस्टाइन र कश्मीरीमाथि दमन भइरहेको छ तर अन्तर्राष्ट्रिय समुदाय मौन छ। हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसद्मा प्रस्ताव पारित गर्नुपर्छ।’

शाहबाजको कार्यकाल 
शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो। यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए। आइतबार संसद्को सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए। जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिन्दाबाद’ को नारा लगाए ।

फेब्रुअरी ८ मा भएको निर्वाचनपछि नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका थिए। यो गठबन्धनले नवाजका भाइ तथा पूर्व प्रधानमन्त्री शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:०५
Weather Update