
काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। क्यान्टिनमा पाक्ने खाना तथा खाजाको विषयमा गुनासो आएपछि महानगरले अनुगमन गरेको थियो।
अनुगमन गर्दा पकौडा बासी पाइएको तथा खाना पनि बासी खुवाउने गरेको पाइएको थियो। बासी खानेकुरा बिक्री गर्ने गरेको पाइएपछि कारबाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना गरिएको काठमाडौं महानगरपालिकाका निरीक्षण अधिकृत एवं कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झाले जानकारी दिए।
‘मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो। हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ। यसलाई अटेर गरेपछि कारबाही गरेका हौँ,’ झाले भने, ‘हामीले नमूना परीक्षणका लागि खाने कुरा मागेका थियौँ। सञ्चालकले खाने कुरा दिन मानेका थिएनन्।’
अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको झाले जानकारी दिए।