News Griha :: न्यूजगृह
शिक्षण अस्पताल परिसरबाट युवराज सफल र पुण्य गौतम पक्राउ

काठमाडौं– आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

चितवनकी शालीन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए। आफूहरू सहित शालीनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरि महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ।

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ। उता पक्राउ परेकाले शालीनको न्यायको लागि आवाज उठाउँदा धरपकड भएको दाबी गरेका छन्। आफूहरूलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै रिहाइका लागि पहल गरिदिन पनि उनीहरूले आग्रह गरेका छन्। 

गत शनिबार एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालीनको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको उल्लेख छ।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:०५
Weather Update