News Griha :: न्यूजगृह
चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। 

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो।

समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए।  फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालीन पोखरेल उक्त विद्यालयको छात्रावासमा मृतावस्थामा फेला परेकी थिइन्।

बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्साहन के हो? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ। समितिले विद्यालय तथा छात्रावासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्रावासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:२०
Weather Update