News Griha :: न्यूजगृह
अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ

काठमाडौं– अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ घर भई हाल काठमाडौंको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका–११ घर भई हाल भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक राम र पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भई भक्तपुरको गठ्ठाघर बस्दै आएका २४ वर्षीय आकाश साह सोनार छन्। 

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेर नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो। उनीहरूले फेसबुक, ह्वाट्सएप, ईमो, भाइबर, टिकटक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गरेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

‘उनीहरूले अहिलेसम्म ४९ लाख ५८ हजार आठ सय रुपैयाँ ठगी गरेको उजुरी परेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने, ‘उनीहरूविरुद्ध अहिलेसम्म पाँच जनाले उजुरी गरेका छन्। घटनाको सम्बन्धमा हामीले थप अनुसन्धान गरिरहेका छौँ।’ 

उनीहरूले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर महँगा मूल्यका मोबाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मगाइ दिने, विदेशमा आकर्षक तलबसहितको जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

 उनीहरूको साथबाट सात थान मोबाइल सेट, १६ थान सिमकार्ड, २१ थान विभिन्न बैंकका एटीएम कार्ड, १६ थान विभिन्न बैंकमा रकम डिपोजिट गरेका रसिद, ४ थान चेक, राहदानी, सवारी चालक अनुमति पत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:०२
Weather Update