News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमार्फत नाबालिगलाई हैरानी दिने युवक पक्राउ

काठमाडौं– आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौंको गोल्खुपाखामा बस्दै आएका २२ वर्षीय सुमन खत्री छन्। उनका अनुसार खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगले पोष्ट गरेको फोटोहरू डाउनलोड गरेर नक्कली आईडी बनाएका थिए। त्यसपछि उनले पीडितको फोटो प्रयोग गरेर अश्लील क्याम्सन लेखेको पाइएको उनले बताए।

‘नाबालिगकी दिदी र साथीहरूलाई समेत अश्लिल तस्बिर, भिडिओ, फेसबुक म्यासेन्जरमा पठाएर चरित्र हत्या गरेको भन्दै पीडितका काकाले ब्युरोमा निवेदनसमेत दिनुभएको थियो’, एसपी अवस्थीले भने, ‘त्यसपछि अनुसन्धान गर्दै जाने क्रममा उनले भीपीएन प्रयोग गरेर सामाजिक सञ्जाल चलाएर पीडितलाई हैरानी दिने गरेको खुल्यो।’ 

अनुसन्धानका क्रममा ब्युरोबाट खटिएको टोलीले उनलाई गोल्खुपाखा, ठमेलबाट पक्राउ गरेको हो। विद्युतीय अपराध ऐनविरुद्धको कसूरमा अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अदालतले समेत अनुमति दिइसकेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:३४
Weather Update