News Griha :: न्यूजगृह
अन्तरविरोध कै कारण जुनसुकै बेला टुट्छ गठबन्धन– एमाले उपाध्यक्ष

जनकपुर– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।

आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे ।

गठबन्धन भित्रको तमासा आफूहरुले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबधन आफैं भित्रका समस्या र अन्तरविरोधहरुले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’ तर,उनले गठबधन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । 

सत्ता गठबधन फुटिहाले एमालेले काँध थाप्छकि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुनरुपमा अगाडि बढ्छ हेरौं न,’ पौडेलले भने । 
पौडेलले देशको विकासको बाधक नै अहिले गठबधन बनेको टिप्पणी गरे । 

‘यो देशको अग्रगती र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:१७
Weather Update