News Griha :: न्यूजगृह
पाकिस्तानमा अबको प्रधानमन्त्री को ?

काठमाडौं– पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरुहुने छ। पाकिस्तानमा पनि नेपालमा जस्तै संसदबाट प्रधानमन्त्री चुन्ने प्रचलन छ।

हालै सम्पन्न आम निर्वाचनबाट पाकिस्तानमा त्रिशंकु संसद बनेकाले गठबन्धनको बलमा प्रधानमन्त्री चयन हुने छ। जसमा नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका छन्। यो गठबन्धनले नवाजका भाई हम्जा शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। 

इमरान खानलाई समर्थन गर्ने सांसदहरू अब सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) पार्टीको गठबन्धनमा छन्। इमरान खानले उमर अयुब खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन्। उनी पीटीआईका महासचिव तथा पूर्वराष्ट्रपति अयुब खानका नाति हुन्।

जियो न्यूजका अनुसार पीएमएल–एन र पीपीपी बाहेक मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) र इश्तेखाम–ए–पाकिस्तान पार्टीले पनि शाहबाज शरीफलाई समर्थन गरिरहेका छन्। यसपछि उनको जित लगभग निश्चित मानिएको छ। मौलाना फजल–उर–रहमानको पार्टी जेयूआई–एफले निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै प्रधानमन्त्रीको निर्वाचन बहिष्कार गरेको छ।

पाकिस्तानमा ८ फेब्रुअरीमा आम चुनाव भएको थियो। चुनावमा कुनै पनि दलले बहुमत पाउन सकेनन्। तर, इमरानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन्।

त्यसपछि संसदको पहिलो अधिवेशन फेब्रुअरी २९ मा सबै सांसदले सपथ लिएका थिए। त्यसपछि सभामुख र उपसभामुखको निर्वाचन भएको थियो। दुवैमा पीएमएल–एनको समर्थन भएका उम्मेदवार विजयी भएका छन्।

प्रधानमन्त्री निर्वाचित भएपछि पाकिस्तानमा मार्च ९ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। पीएमएल–एन र पीपीपीले संयुक्त रूपमा आसिफ अली जरदारीलाई आफ्नो उम्मेदवार घोषणा गरेका छन्। इमरान समर्थक एसआईसीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:०३
Weather Update