News Griha :: न्यूजगृह
६ संसदीय समितिको बैठक आज
फाइल तस्बिर

काठमाडौं– संघीय संसदको दुवै सदन अन्तर्गत ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठक विभिन्न समयमा सिंहदरबारस्थित समितिको आआफ्नै सभाकक्षमा बस्न लागेको हो।
 
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ। 

चार समितिमध्ये  दुई समितिको बैठक ११ बजे र बाँकी दुई समितिको बैठक साँढे ११ बजेलाई बोलाइएको छ।
 
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्याहरु बारे छलफल गर्ने तयारी छ । 

यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिले आज बेपत्ता पारिएका व्यत्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनसहित छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पनि फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तशुल्कका विषयमा छलफल गर्ने भएको छ । 

यस्तै, राष्ट्रिय सभाको पनि विधायन व्यवस्थापन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आजै बस्दैछ । विधायन व्यवस्थापन बैठकमा राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल पूरा गरी अवकाशमा जान लागेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको विदाई गर्ने भएको छ ।  

राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था अनुसार २० जना सदस्यहरुको कार्यकाल आजबाट सकिँदै छ। 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:५६
Weather Update