News Griha :: न्यूजगृह
व्यावसायीले ब्याजदरविरुद्ध आन्दोलन नरोक्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन नरोकिने भएको छ ।

नेपाल राष्ट्रिय व्यावसायीका महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४२ वटा व्यापार संगठन आबद्ध बैंकको ब्यादरविरुद्ध मूल संघर्ष समितिले भने आन्दोलन जारी रहने जनाएका हुन् ।

‘बैक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखि १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दै बैंकिङ आतंकविरुद्ध आन्दोलन जारी रहने जनाएका हुन् ।

संघर्ष समितिले उद्योगी व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य महासंघको निर्णयप्रति पनि आपत्ति जनाएका छन् । ‘केही दिनअघि हाम्रो महासंघ र संघहरूको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योग व्यावसायीहरूले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचारप्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहान्छौं, संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’

सरकारले व्यावसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्षले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:५३
Weather Update