News Griha :: न्यूजगृह
शालीनको मृत्युले ओलीलाई बेचैन बनायो, अनुसन्धानमा सहयोग गर्न आग्रह

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्। हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन्।

'चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्,' उनले फेसबुकमा लेखेका छन्, 'यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस्। सबैले अनुसन्धानलाई सहयोग गरौँ ।'

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १९:२२
Weather Update