News Griha :: न्यूजगृह
देशका विभिन्न स्थानमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने

काठमाडौं– देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। अधिकांश स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

पछिल्लो तीन घण्टामा मनाङमा सबैभन्दा बढी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 'पछिल्लो तीन घण्टामा मनाङको गोगा केन्द्रमा १९.६ मिलिमिटर वर्षा भएको छ,' उनले भने, 'यो मध्यम वर्षा हो।'

उनका अनुसार, यो अवधिमा केही स्थानमा हल्का वर्षा भएको छ। 'अन्त हल्का वर्षा भएको छ। सबै ठाउँमा १० मिलिमिटर भन्दा कम छ,' उनले भने।

पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको उनले जानकारी दिए। काठमाडौंमा पनि छिटपुट पानी पर्न थालेको छ। शनिबार राति र आइतबार काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। पानी पर्ने क्रम सोमबारदेखि कम हुँदै जाने उनले जानकारी दिए।
'सोमबारदेखि क्रमिक रूपमा सुधार हुँदै जानेछ । पानी परे पनि आज र भोलिजस्तो सोमबार पर्दैन, छिटपुट पर्न सक्छ,' उनले भने ।

काठमाडौंमा सोमबार वर्षाको सम्भावना नदेखिएको उनले बताए । महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावनाबारे जानकारी गराइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १९:०७
Weather Update