News Griha :: न्यूजगृह
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम

काठमाडौं– राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन्। समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ। यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ। 

‘बहादुर शाह’ पुस्तकका लेखक लामो समय राजनीतिक जीवन बिताएका नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले हुन्। गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन्।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्न द्रष्टा पात्र हुन्। योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ। कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूति भन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन्।
पिता पृथ्वीको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए। आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा काँगडासम्म फैलाउन सफल भएको देखिन्छ।  

तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो। दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृंखला पनि बाक्लियो। नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो। बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लियो। यसैबीच आएको कोरोना महामारीले पनि यो पुस्तकको प्रकाशन तालिका लम्बिन पुगेको लेखक चिरञ्जीवी वाग्ले बताउँछन्।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु।’ 
‘मैले अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिँदा इतिहास अधुरै रहन पुगेको महसुस भयो,’ वाग्ले भन्छन्, ‘त्यसबाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगेँ।’

वाग्लेका अनुसार उनले यस पुस्तकको पाण्डुलिपि तयार पार्नासाथ उति बेलै संस्कृतिविद् तथा इतिहास अध्येता सत्यमोहन जोशीलाई पढ्न दिएका थिए। जोशीको हस्तलिखित ‘दुई शब्द’लाई उनीप्रतिको सम्झनास्वरूप पुस्तकको प्राक्कथनमा समावेश गरिएको छ। 

‘बहादुर शाहले विशालकाय नेपालको निर्माणमा निर्वाह गरेको प्रमुख भूमिका सधैँ ओझेलमा परेको देखापर्दछ,’ जोशीले लेखेका छन्, ‘नेपालको राष्ट्रिय इतिहास र राजनीतिका विद्यार्थी र राष्ट्रप्रेमी पाठकहरूका लागि यो ग्रन्थ ज्यादै पठनीय र ज्ञातव्यको स्रोत साधन भएको छ।’ 

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १६:०९
Weather Update