News Griha :: न्यूजगृह
२७ वर्षीय सुजनबागले जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता

भक्तपुर— मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलो पटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । 

शनिवार उनले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो । 

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । 

यसअघि, सुजका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थिए । तर यस पटकबाट भने सुजनले जिब्रो छेडेर परम्पराको सुरुवात गरेका हुन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ । 

Sujan Bag Shrestha-Jibro Chedan-Jatra1681559243.png

जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय अर्थात् महाद्वीप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुन्छ । दैवीक शक्तिलाई आधार मानेर प्राचिनकालदेखि नै मनाइँदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

किंवदन्तीअनुसार प्राचीन कालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा सुरु भएको हो । 

जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च  लामो सुइरोले जिब्रो छेडिन्छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्ति पीठको दर्शन गर्ने परम्परा छ । 

अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्क नरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७८ सालसम्म नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १७:३०
Weather Update