
कटारी– उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ना१ज ८३३३ नम्बरको जिप दुर्घटना भएको थियो।
दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। कटारी नगरपालिका–८ का वडाध्यक्षा नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ। घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभइ थप उपचारका लागि विराटनगर पठाइएको थियो। लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताए। जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।
राईका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर १३ जना घाइते भएका थिए। घाइतेमध्ये अहिले ८ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अन्य भने सामान्य घाइते रहेको वडाध्यक्ष तामाङले जानकारी दिए। गुडिरहेको जिप अनियन्त्रित भइ सडकभन्दा १०० मिटर तल खसेको थियो।