News Griha :: न्यूजगृह
गृहमन्त्री भन्छ्न्- वास्तविक कम्युनिष्ट भनेको जोगी हो

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासनको अभियानमा कानुनी प्रक्रियासँगै ध्यानको पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।

१३ औं जीवन विज्ञान दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले हाल आफूले मन्त्रालयअन्तर्गत ध्यानको अभियान चलाएको सुनाए । त्यसमा कर्मचारीले मन्त्रालय आएपछि १५ मिनेट ध्यान गर्ने भनेर निर्देशन गरिसकेको भन्दै उनले अहिले नेपाल प्रहरीमा पनि त्यो सुरुवात गरेको जानकारी दिए ।

‘मैले गृहमन्त्रालयअन्तर्गत ध्यानको अभियान चलाइराखेको छु । गृहमन्त्रालयमा हामी आएपछि पहिलो १५ मिनेट ध्यान गर्ने भनेर हामीले निर्देशन गरिसकेका छौं । ध्यानपछि मात्र काम गर्ने छौं । अहिले नेपाल प्रहरीमा पनि हामीले त्यो सुरुवात गरेको छौं,’ उनले भने,‘अहिले सरकारले सुशासनको अभियान चलाएको छ । यो समाज विकृति र नकारात्मक दिशामा जाने प्रक्रियामा छ । हरेक मानिसलाई चरित्रवान बनाउने प्रक्रियामा लाग्यो भने अपराध कम हुन्छ । एउटा सुशासन त्यहाँबाट हुन्छ । अर्को कर्मचारी पुलिस आफैं घूस खान्छ, चाकडी गर्छ । यो सबै आफैंबाट रोक्नुपर्छ नि त्यही सोचेर अभियान अगाडि बढाएको छु ।’

ध्यान अभियान सञ्चालन गरेपछि आफूलाई कम्युनिष्ट नेता अब त जोगी नेपालमा गएछ भन्ने खालका टिकाटिप्पणी पनि आउने गरेको उनले बताए । वास्तविक कम्युनिष्ट भनेको सबभन्दा राम्रो जोगी भएको तर्क उनले गरे ।

‘म कम्युनिष्ट पार्टीको वरिष्ठ उपाध्यक्ष, कतिले यो कम्युनिष्ट नेता अब त जोगी भएछ भन्छन् । अनि भन्छु वास्तविक कम्युनिष्ट भनेको सबभन्दा राम्रो जोगी हो । व्यक्तिगत स्वार्थको मानसिकताबाट मुक्त सम्पूर्ण रुपमा आफ्नो र मानवताको मुक्तिमा लाग्ने मान्छे कम्युनिष्ट हो । विभिन्न धार्मिक नाममा पाप पनि गरेको छ । कोही कम्युनिष्ट भने पनि गैर कम्युनिष्ट खोलचाहिँ कम्युनिष्टको छ, आचरण गैरकम्युनिष्ट पनि छ,’ उनले भने, ‘हाम्रो पूर्वीय योगी ऋषिमुनीहरूले पूर्वीय ज्ञान संस्कृति मानव जातिलाई दिनुभएको छ । त्यो मानव जातिलाई सकारात्मक दिशातिर तगेर अगाडि बढाउने उत्तम चाबी हो ।’

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:०८
Weather Update