News Griha :: न्यूजगृह
सेनाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु

काठमाडौं– नेपाली सेनाको  हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ।

नगरकोटस्थित सैनिक वार कलेजमा शुक्रबार आयोजित समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देलले तालिम उद्घाटन गरेका हुन्। 

तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हित, त्यसको सम्वर्द्धन र प्रवर्द्घन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता अति महत्वपूर्ण विषयहरूको बारेमा ज्ञान आर्जन गर्न सकिने रथी सिग्देलले बताए।

तालिमका सहभागी अधिकृतहरूलाई भविष्यमा उच्च तहका विभिन्न नियुक्तिमा रही कार्य गर्नुपर्ने राष्ट्रिय सुरक्षासँग जोडिने भएकाले कुनै पनि विषयको विश्लेषण गर्दा तटस्थ रही राष्ट्र र संस्थाको हितमा निर्णय गर्न तथा योजनाहरू बनाउन उनले सुझाव दिए। 

तालिम पश्चात् सहभागी अधिकृतहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सैनिक तथा गैर सैनिक व्यक्तिहरूसँग मिलेर काम गर्न सक्ने क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि हुने विश्वास उनले व्यक्त गरे। 

नेपाली सेनाका लागि उच्च दर्जाको मानिएको तालिममा सेनानी दर्जाका ३५ जनाको सहभागिता छ।   

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:२८
Weather Update