
काठमाडौं– आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आगामी चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ।
चैत २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।
यस्तै, चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको आयोगले जनाएको छ। उक्त उजुरीमाथि जाँचबुझ गरी सोही दिन बेलुकी ५ देखि ६ बजेसम्म उम्मेदवारको नमावली प्रकाशन गरिने छ।
चैत २७ गते बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनका लागि समय छुट्याइएको छ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
वैशाख १५ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यक्रममा उल्लेख छ। प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ-१ को प्रदेश सभा-१ मा उपनिर्वाचन हुँदैछ।