
काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रिभत्र ११८ वटा औषधि पसल (फार्मेसी)हरु मापदण्ड विपरीत सञ्चालित भएका पाइएको छ। काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको हो।
महानगरको स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्ममा वडा नम्बर १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ।
वडा नम्बर १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो। यसरी भेटाएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले बताइन्। ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो। जनस्वास्थ्यका दृष्टिले यो चरम गल्ती हो’, उपप्रमुख डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन।’
औषधि पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्र छ। पसलमा अर्कै व्यक्ति बसेको पनि भेटिएको डङ्गोलले जानकारी दिइन्। उनका अनुसार केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको छ।
कामपाले गत मङ्सिरमा आफ्नो क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो। सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो।
उक्त अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ अनुसार कारबाही गरिने जनाइएको छ। औषधि पसल सञ्चालन हुनका लागि पहलो कामपामा अनुमति लिनुपर्ने हुन्छ। फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपाउने कानुनी मान्यता छ। हाल काठमाडौं महानगरमा २ हजार ६०० औषधि पसल सञ्चालनमा रहेका छन्।
औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याइने कामपाको भनाइ छ।













