काठमाडौं– नेपाली राजनीतिमा नछुट्ने नाम हो, मोहन बैद्य ‘किरण’। वैचारिक, अध्ययनशील र इमान्दार नेताको छवि बनाएका बैद्य सत्ता र वर्तमान व्यवस्थाप्रति सन्तुष्ट छैनन्। उनको गुनासो छ जनताको सेवामा जुट्नुपर्ने राजनीतिक दल स्वार्थका पछि लागेर राष्ट्रियता र जनजीविकालाई बिर्सिँदा जनतामा चरम निराशा बढेको छ।
जनतामा आशा जगाउन, राष्ट्रियता बचाउन र नागरिकले गर्व गर्ने देश बनाउन वर्तमान सरकार र सत्ता व्यवस्थाकै विकल्प खोजिरहेका बैद्य अहिले केही समयअघि एकता गरेर गठन गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशनको तयारीमा छन्।
उनको अधिकांश समय महाधिवेशनकै तयारीका बैठक र छलफलमा बित्ने गरेको छ। बिहान सबेरैदेखि राति अबेरसम्म उनको दैनिकी पार्टीकै काम, पार्टीका बैठक, संगठनलाई चलायमान बनाउन कार्यकर्तासँग गरिने फोनवार्ता तथा अध्ययन र लेखनमा बित्ने गरेको छ।
सानै उमेरमा देखेको देशको मुहार फेर्ने सपनामा रत्तिभर विचलित नभइ लागेका बैद्य अहिले स्वास्थ्यले साथ नदिँदा सोचेजस्तो काम गर्न नसकेको गुनासो गर्छन्। बेलाबेला अस्पताल धाइरहनुपर्ने बाध्यताका बीच पार्टी र पार्टी निर्माणको काममा अहोरात्र खटिरहेका बैद्यको राजनीति बाहेकको जीवनलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ।
000
नेपाली राजनीतिमा किरणका नामले चिनिने मोहन बैद्यको नागरिकतामा ‘मोहन बैद्य’ नै भएपनि उनको थर बैद्य होइन। पोखरेल परिवारमा जन्मिएका उनले पोखरेलको साटो बैद्य राख्नुको रोचक कहानी छ।
प्यूठानमा बैद्यका बाजे पुस्ताको काम आयुर्वेदिक औषधोपचार गर्ने थियो। त्यसैले उनका बाजेबराजुलाई गाउँलेले बैद्य भनेर बोलाउँथे। बाल अवस्थामै उनलाई आफ्ना पुर्खाले गरेको काम र पेसा मन पर्यो।
समाजसेवामा जुट्नुपर्छ भन्ने सोच हुँदा हुँदै आफूलाई बाजेबराजुको पेसा मन परेकाले नामको पछाडि ‘बैद्य’ लेखेका उनले पछि नागरिकता बनाउँदा बैद्यलाई थरकै रूपमा प्रयोग गरे र मोहन बैद्यको नाममा नागरिकता लिए।
संस्कृत दर्शनमा शास्त्री गरेका उनी अध्ययनशील नेता हुन्। अहिले पनि पार्टीको बैठक र पार्टीका गतिविधिपछि बैद्यको दैनिकी अध्ययन र लेखनमै बित्ने गरेको छ।
बिहान ५ बजे उठ्ने १० बजे सुत्ने
बैद्यको दैनिकी प्राय: बिहान ५ बजेदेखि सुरु हुन्छ। यो कुराकानीको समय जाडो मौसम नै रहेकाले जाडो लागे केही ढिला उठ्ने गरेको अनुभव सुनाए।
धेरै जाडो भएको अवस्था र बिरामी भएको समयबाहेक ५ बजेपछि ओछ्यान छाड्ने पहिल्यैदेखिको दैनिकी अझै कायम नै छ।
बिहानै नित्यकर्म सकेर करिब १ घण्टा योग तथा प्राणायाममा बित्ने गरेको छ। उनी भन्छन्, ‘शारीरिक स्वास्थ्यका लागि पनि योग र प्राणायाम सबैले गर्नुपर्छ। योग र प्राणयामले हामीलाई स्वस्थ बनाउँछ। सानै उमेरदेखि बानी लगायौँ भने पाको उमेरमा पनि रहर नै लाग्ने हुँदो रहेछ। १ घण्टाको समय योग र प्राणयामलाई छुट्ट्याइयो भने आधा स्वास्थ्य समस्या हल हुन्छन्।’
बैद्यको बिहान करिब ६ बजेदेखि ७ बजेसम्मको समय योग र प्रणायाममा बित्ने गरेको छ। त्यसपछि भने घरमा आएका पत्रपत्रिका पढ्ने, पार्टीका आन्तरिक गतिविधि र हुने कामका बारेमा जानकारी लिने तथा दिने बैद्यका बिहानका काम हुन्।
बैद्यलाई अहिले दमले बेला बेला दु:ख दिने गरेको छ। यो समस्या सानै देखिको रहेछ। उमेरमा बल, तागतले जितेको यो समस्या अहिले केही बढी देखिने गरेकाले नियमित औषधि खानुपर्ने र बेला बेला अस्पताल धाउनुपर्ने बाध्यता छ। घरमा औषधिको व्यवस्थापन गर्नेदेखि केही असजिलो परे डाक्टरकहाँ पुर्याउने जिम्मेवारी पत्नी शुष्मालाई छ।
‘दमको समस्या सानै उमेरदेखि हो। त्यतिबेला शरीर दह्रो भएर पेलियो। अहिले शरीर पाको हुँदै गएपछि कुनै कुनै बेला दमले दु:ख दिन्छ। जाडो समयमा बढी समस्या हुन्छ। राम्रोसँग रेखदेख र ख्याल गर्दा धेरै समस्या नहुँदो रहेछ,’ शुष्माले न्यूजगृहसँग भनिन्।
स्वास्थ्य समस्या आउँदा बैद्यले त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा उपचार गराउँछन्। पछिल्लो समयको स्वास्थ्योपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै हुने गरेको छ।
अस्पतालका डाक्टरले पनि बैद्यको स्वास्थ्योपचारमा विशेष ध्यान दिने गरेको शुष्माले बताइन्। ‘आमा बुवाको राम्रो ख्याल गर्नुहोस् है। केही पर्यो भने हामीलाई खबर गरिहाल्नुहोस्। छिट्टो अस्पताल ल्याइहाल्नुहोस् भन्नुहुन्छ,’ उनले भनिन्, ‘मेरो मोबाइलमा उहाँहरूको नाम र नम्बर सेभ गरिदिनुभएको छ। कुनै बेला फोन उठाउनुभएन भने लगत्तै फोन गरिहाल्नुहुन्छ।’
ठट्यौली पारामा शुष्माले आफू पनि अहिले सानोतिनो डाक्टर नै भएको बताइन्। ‘म पनि सानो तिनो डाक्टर नै हुँ। धेरै उपचारहरू म आफैँ पनि गर्छु। गाह्रो भयो भने गर्ने प्राथमिक उपचारका बारेमा डाक्टरहरूले सिकाउनु भएको छ। म सोही अनुसार गर्छु। अक्सिजनको मात्रा कम भयो भने के गर्ने भन्ने मलाई थाहा छ। स्वास्थ्यप्रति थोरै सचेत भयो भने धेरै अफ्ठ्यारो नहुने रहेछ,’ उनले भनिन्।
पार्टीका कामले घरबाहिर निस्कँदा पनि शुष्माको विशेष निगरानी हुने गरेको छ। दिउँसो खाने औषधि भए सम्झाएर झोलामा राख्ने। उमालेको पानी थर्मसमा राख्ने अनि खान नबिर्नुहोस् है भनेर हिँड्ने बेलामा सम्झाउने शुष्माको दैनिकी नै हो। उनले भनिन्, ‘बाहिर हिँडेपछि त घर जस्तो हुँदैन नि। नउमालिएको पानी पिउनुभयो भने बेलुका गाह्रो पारिहाल्छ। अनि आफैँले जानेर थर्मसमा हालेर पठायो भने त सजिलो। जतिखेर मनलाग्छ खान पाइयो।’
घरमा पाकेको सबै मिठो
बैद्यले आफ्नो सबै पार्टी भएकाले पार्टी बाहेकको आफ्नो दैनिकी नै नभएको बताए। पार्टीले गर्ने निर्णय र पार्टीलाई चलायमान बनाउन खेल्नुपर्ने भूमिकाबाटै दिन बित्ने गरेको बताउने बैद्यको जीवन साह्रै सरल छ।
खानपानमा त्यस्तो धेरै रुचि छैन। ‘घरमा जस्तो पाक्छ त्यस्तै खानुहुन्छ। मिठो नमिठोको बोली आजसम्म सुनेको छैन। बरु बच्चाहरूलाई पनि जे पाक्छ मिठो मानेर खानुपर्छ भन्नुहुन्छ’, बैद्यको स्वभाव सुनाउँदै शुष्माले भनिन्।
किचनमा खटिनुहुन्छ ? भन्ने प्रश्नमा बैद्यले भने, ‘कहाँ अहिले त बुढो भइयो। घरको काम खासै केही गर्न सक्दिन। घरमा गर्न पनि दिँदैनन्।’ यही प्रश्नमा शुष्माले हाँस्दै भनिन्, ‘पहिले चाहिँ खटिनुहुन्थ्यो। खानेकुरा मिठो बनाउनुहुन्थ्यो। अहिले त छैन।’ उनले भनिन्, ‘उहाँलाई मनपर्ने विशेष भन्ने नै नभए पनि उहाँले बनाएको आलु र सिन्कीको तरकारी भने मलाई औधि मिठो लाग्थ्यो। मैले मिठो मानेर पनि होला उहाँले बनाउने दिनमा आलु र सिन्कीको तरकारी छुट्दैन्थ्यो। त्यसैले उहाँलाई पनि मिठो लाग्ने चाहिँ त्यही होला।’
अधिकांश समय बैद्यको किचनमा शाकाहारी नै भोजन पाक्छ। कुनै कुनै बेला मासु पनि पाक्छ। मासुप्रति बैद्यलाई खासै रुचि छैन। ‘पकाएको बेलामा पनि नखाने नै भन्नुहुन्छ। बल गरेर एक दुई पीस खुवाउँछौँ। भरसक सादा खाना नै ठीक मान्नु हुन्छ’, उनले भनिन्।
छैन व्यक्तिगत जीवन, सबै पार्टीको
न्यूजगृहसँगको कुराकानीमा बैद्यले पटक पटक दोहोर्याए– ‘आफ्नो भन्ने नै केही छैन। सबै पार्टी नै हो।’ बिहानदेखि रातिसम्म राजनीतिक दल र राजनीतिक दलको गतिविधिमा सक्रिय हुने बैद्य घरमा भने खासै राजनीतिक विषयमा कुराकानी गर्दैनन्। घरमा कसैले सोधिहाले पनि छोटकरीमा भन्ने गरेको पत्नी शुष्माको भनाइ छ।
त्यसमा पनि बैद्यले पढ्ने विषय र लेख्न सामग्री पनि राजनीतिक सेरोफेरोकै हुने गरेका छन्। तिनै विषय सुन्दा शुष्मालाई पनि धेरै राजनीतिक विषयवस्तुमा चासो राख्न मन लाग्छ। बैद्य गाउँको परिवेश, शोषण दमनको दृश्यले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको बताउँछन्।
अभावले आफूलाई कम्युनिस्ट बनाएको बताउने बैद्यले गरिब ब्राम्हण परिवारमा जन्मिदाका पीडाले नै राजनीतिक यात्रा तय गरेको सुनाए। उनले भने, ‘म ब्राम्हण परिवारमा जन्मिए, हुर्किएको हो। ब्राम्हण परिवारमा पनि धनी परिवारमा जन्मिएको मान्छेको व्यवहार फरक हुन्छ। तर, गरिब परिवारमा जन्मिएको छ भने, त्यो शोषित, पीडित नै हुन्छ। यो पीडाले नै बाल्यकालदेखि नै मानिस धनी–गरिब किन हुन्छ भन्नेकुरा मनमा खेल्थ्यो। यही मनमा खेलेको कुराले नै मलाई कम्युनिस्ट बनायो।’
साथीहरूको संगत पनि उनलाई कम्युनिस्ट बनाउन उत्प्रेरक बनेछ। आफूलाई कम्युनिस्ट बनाउन सहयोग गर्ने साथीहरू अहिले पनि राजनीतिमा रहेको बताए पनि उनले नाम र राजनीतिक दल भने खुलाएनन्। उनले भने, ‘म पहिलेदेखि नै शोषण र दमनविरुद्ध काम गर्नुपर्छ भन्ने विचारको मान्छे भएकाले पनि उहाँहरूको साथले मलाई कम्युनिस्ट बनाउन सहयोग गर्यो।’
बैद्यले आफ्नो बाल्यकाल भने औसत बालबालिकाको जस्तै भएको सुनाए। शिक्षकले अध्ययनशील विद्यार्थी हो भनेर उनलाई चिनेका थिए। विद्यार्थीको माग र कक्षामा हुने विभिन्न कार्यक्रमका लागि चाहिने कुराको प्रबन्ध मिलाउन शिक्षकसँग पटकपटक भेट भइरहे पनि शिक्षकसँग ठूलो स्वरमा बोलेको कुनै कुरा उनीसँग स्मृतिमा छैन।
डण्डिबियो खेल्दा गाली!
साथीहरूसँग गाइबस्तु चराउन जंगल गएको अनुभव सँगालेका बैद्य गाइवस्तुले अर्काको बाली खाँदा खाएको गालीलाई राम्ररी नै सम्झन्छन्।
उनले त्यतिबेलाको स्मरण यसरी गरे, ‘गाइभैंसी चराउन पनि गइयो। गाइ चराउन जाँदाको धेरै कुरा त ख्याल छैन। हामी केटाकेटी नै थियौं। जंगलमा गाइवस्तु लिएर जाँदा धेरैजसो डण्डिवियो खेलिन्थ्यो। खेलमा यति धेरै लगाव हुँदो रहेछ कि गाइवस्तुले अर्काको बाली खाएको नै पनि पत्तो हुँदैनथ्यो। वस्तुले बाली खाएपछि सारै गाह्रो पर्थ्यो। कोहीकोही बेला त झगडा नै परेको छ। गाली पनि खाइयो।’