News Griha :: न्यूजगृह
संसद्‌मा जवाफ दिन भन्दै सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन्। 

सांसदहरुले आज (शुक्रबार)को बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन्। 

सभामुख घिमिरेले यसअघि चार पटक रुलिङ गरिसकेका छन्। सभामुखले सरकारलाई यही २१ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिन मिति नै तोकेर रुलिङ गरेका हुन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कारबाही अवरुद्ध गर्ने प्रयास गरेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका हुन्।

सदनमा आफूहरुले बारम्बार उठाउँदै आएको बालकुमारी घटनाका आरोपति मन्त्रीसहित स्वास्थ्य मन्त्रीको राजीनामा, मिटरव्याजी पीडित र लघुवित्त पीडितका समस्या एवं दुग्ध किसानको समस्या सडकबाट सदनसम्म आउँदा पनि सरकार मौन रहेको र आफूहरुले उठाएको विषयमा सरकारले महत्त्व नदिएको भन्दै विपक्षी दलहरुले विरोध गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:२१
Weather Update