काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद् स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरू अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जवाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनु भयो, प्रधानमन्त्रीको खोजी गर्न पर्यो त्यसको लागि यो संसद्ले उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद् स्थगित गर्नुपर्ने हो की, कति दिन समय चाहिने हो।’
सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रधानमन्त्रीलाई संसद्मा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न पनि उठाएका छन्।
उनले भने, ‘आगामी बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनेर सभामुखले रुलिङ गरेपनि आज प्रधानमन्त्री आउने खबर पाएका छैनौ। यसरी हेर्दा सरकार संसद्प्रति जवाफदेही नभएको देखिन्छ, बालकुमारी घटनामा दोषी करार भएका सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न राजीनामा नगरे बरखास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ। यो संसद्मा आएर जवाफ दिन कसले रोकेको छ।’