News Griha :: न्यूजगृह
जोर्डनसँग नेपाल टाइब्रेकरमा पराजित

काठमाडौं– वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित भएको छ। साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ ले पराजित भएको हो। 

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा सकिएपछि नेपाल टाइब्रेकरमा जोर्डनसँग पराजित भएको हो। टाइब्रेकरमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो। नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन्।

जोर्डनले छैटौँ पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो। उपविजेतामा सीमित नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। 

जोर्डनले ७४ मिनेटमा बराबरी गोल फर्कायो। ८९ मिनेटमा जोर्डनले अर्को गोल गर्दा खेलमा नेपाल २-१ ले पछि परेको थियो। तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन्। 

नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०६:१०
Weather Update