
काठमाडौं– प्रहरी प्रधान कार्यालयले नागरिकको गुनासो, उजुरी तथा सुझावलगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाई विस्तार गरिरहेको छ। उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको प्रधान कार्यालयले जनाएको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत असोज ६ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा क्यूआर कोडको प्रयोग सार्वजनिक गरेपछि यसको प्रभावकारिता आधारमा प्रधान कार्यालयले अन्य कार्यालयमासमेत यसको प्रयोग बढाउँदै लगेको छ।
प्रधान कार्यालयकाअनुसार हालसम्म देशभरका १ सय ८९ प्रहरी कार्यालयमा क्यूआर कोडको विस्तार भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा १ वटा, काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेस प्रदेश अन्तर्गत एउटा, बागमती प्रदेश अन्तर्गत ६ वटा, गण्डकी प्रदेश अन्तर्गत दुई वटा, लुम्बिनी प्रदेश अन्तर्गत चार वटा, कर्णाली प्रदेश अन्तर्गत १६ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत एक १६ वटा प्रहरी कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था छ ।
प्रहरी तथ्याङ्कअनुसार क्यूआर कोडको व्यवस्था सबैभन्दा बढि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतमा छन्। नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप क्यूआर कोडको व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल क्यूआर कोडको सुविधा पाउँदा सेवाग्राही निकै उत्साहित भएको दाबी गर्छन्।
उनले भने, ‘यो सुविधा पाउँदा सेवाग्राही निकै उत्साहित भएको मेरो अनुभव छ। नागरिककै सेवामा खटिने नेपाल प्रहरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गरी कार्यान्वयन गर्न क्यूआर कोडको प्रयोग प्रभावकारी देखिन्छ। त्यसैले नेपाल प्रहरीले क्यूआर कोडको प्रयोगलाई अन्य प्रहरी कार्यालयहरूमा पनि क्रमशः विस्तार गर्दै लैजाने नीति लिएको छ।’
क्यूआर कोडमाफर्तत अहिलेसम्म १ सय ३६ वटा उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ। तीमध्ये १ सय १४ वटा फर्छ्यौट भइसकेका छन् भने २२ वटा कार्यान्वयनको चरणमा छन्।