News Griha :: न्यूजगृह
शिक्षामन्त्रीको दाबी– त्रिविमा उपकुलपतिको नियुक्ति निष्पक्ष छ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया निष्पक्ष, कानुन सम्मत र व्यवहार कुशलताको हिसाबले उपयुक्त भएको दाबी गरेका छन्। उपकुलपतिलाई काम गर्ने वातावरण बनाउन सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने मन्त्री राईको भनाइ छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राडा केशरजंग बराललाई त्रिवीको उपकुलपति पदमा नियुक्त गरेको १ सातापछि मन्त्री राईले कुलपतिको निर्णय सही भएको दाबी गरे। उपकुलपति नियुक्तिको सन्दर्भमा ऐनमा कुनै स्पष्ट कार्यविधि नभएकाले प्रधानमन्त्री तथा कुलपति दाहालले गरेको निणर्य सही भएको दाबी मन्त्री राईको छ। प्रधानमन्त्रीले खुल्ला प्रतिस्पर्धाको कुरा राखेर मेरिटोक्रेसीअनरुप भिसी नियुक्त गर्ने भनेपछि मन्त्रालयले पारदर्शी, प्रतिस्पर्धात्मक र निष्पक्ष हिसाबले भिसीको नियुक्तिका लागि ३ जनाको नाम पठाएको राईले जानकारी गराए। 

उनले भने, ‘कुलपति ज्यूले जुन निणर्य गर्नुभएको छ,त्यो विलकुल कानुन सम्मत र व्यवहार कुशलताको हिसाबले पनि उपयुक्त छ भन्ने मलाई लागेको छ। त्रिभुवन विश्वविद्यालय जस्तो चुनौतीपूर्ण ठाउँमा त्रिवीको वर्तमान चुनौतीहरुको सामना गर्न सक्ने ठानेर कुलपतिज्यूले उहाँ (बराल)लाई नियुक्त गर्नुभएको हो।’

बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयमा छलफलका लागि सहभागी भएका मन्त्री राईले त्रिविको समस्या हल गर्न नवनियुक्त भिसी बराललाई राजनीतिक दलहरुले विश्वविद्यालयमा हस्तक्षप रोकेर काम गर्ने वातावरण निर्माण गर्न लाग्नुपर्नेमा जोड दिए। 

‘सबै काम उपकुलपतिले मात्रै गरेर सबै समस्याको अन्त्य हुने होइन, त्यसका लागि एउटा टिम चाहिन्छ। राजनीतिक हस्तक्षेप बढी भयो भन्ने जुन गुनासो बढी आएको छ त्यो गुनासोलाई मेट्नको निम्ति सबै राजनीतिक दलहरुले प्रतिबद्धता नै जाहेर गरेर व्यवहारमा राजनीतिक हस्तक्षेप नहुने र काम गर्न दिने वातावरण तथा खुला ग्राउण्ड तयार गरिदिनुपर्छ। त्यसैको आवश्यकता छ,’ मन्त्री राईले भने।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:१४
Weather Update