News Griha :: न्यूजगृह
टी–२० आई सिरिजमा नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो

काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ। नेदरल्यान्ड्सले बिहीबार नामिबियालाई ५९ रनले पराजित गर्‍यो। 

जितको लागि २४८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन बनाएको थियो। नेदरल्यान्ड्सका युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उच्च रनको योगफल बनाएको थियो। 

नेदरल्यान्ड्सका लागि ओपनर लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रन बनाए। यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ७५ रन जोडे। ४० बलको सामना गरेका एंगलब्रेक्टले ७ चौका र ५ छक्का प्रहार गरे। 

बिहीबार नेदरल्यान्ड्सले बनाएको २४७ रन नै त्रिवि क्रिकेट मैदानमा टी–२० क्रिकेटमा बनेको सबैभन्दा ठूलो स्कोर हो। यसअघि सन् २०२१ मा नेपालले  नेदरल्यान्ड्सविरुद्ध २३८ रन बनाएको थियो।

नामिबियालाई पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेदरल्यान्ड्सको ४ र नामिबियाको २ अंक छ। नेपाल भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल र नामिबिया खेल्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:५३
Weather Update