
इलाम– निर्वाचन आयोगले आगामी वैशाख १५ गतेलाई उपनिर्वाचनको मिति घोषणा गरेसँगै इलाममा चुनावी सरगर्मी सुरु भएको छ। राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि अघि बढाउन थालेका छन्। पार्टी भित्र आफ्नै पक्षमा जित निकाल्ने रणनीति बनाउने काम पनि हुन थालेको छ।
यसअघि पटक–पटक इलाम–२ बाट विजयी भएर राष्ट्रिय नेताको छवि बनाएका नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
लगातार एमालेले जितेको क्षेत्र भएकाले एमालेलाई यो उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का यसअघि ११४ मतले मात्र पराजित भएकाले कांग्रेस पनि नतिजा उल्ट्याउने रणनीतिकका साथ निर्वाचनमा होमिने भएको छ।
निर्वाचन मिति नजिकिँदै गर्दा अहिले नेकपा एमाले भित्र को उम्मेदवार बन्ने भन्ने होड देखिएको छ। मंगलबारमात्र एमाले जिल्ला कमिटीले जिल्ला, प्रदेश र पालिका अध्यक्षहरूको संयुक्त बैठक बोलाएर चुनावी तयारीमा जुट्नेगरी छलफल थालेको छ।
बैठकले सम्भव भएसम्म सहमति जुटाएर उम्मेदवार टुंग्याउने, सहमति नजुटे आकांक्षीहरूको नामावली केन्द्रमा पठाउने निर्णय गरेको छ।
यसअघिको निर्वाचन पनि कम मतले आफ्नो पक्षमा आएको निष्कर्ष निकालेको एमालेले पार्टीको तल्लो तहसम्मका संगठनलाई निर्वाचन केन्द्रित भएर गाउँमा खटिन र मतको अवस्था बुझ्न खटाउने निर्णय गरेको एमाले जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए।
उनले भने, ‘अब पार्टीले वास्तविक मत पत्ता लगाउँने छ। त्यसका लागि वडा कमिटीलाई परिचालन गरिनेछ। अब उम्मेदवार घोषणा हुनुअघि पार्टीको संगठनलाई चलायमान गराएर टाउको टाउकोको गणना गर्नेगरी परिचालन हुनेछ।’
विगतमा पनि आफूहरूले मूल्यांकन गर्दा एमालेलाई आउनुपर्ने करिब दुई हजार मत विपक्षमा गएको पाइएको बताउँदै गुरुङले अब त्यस्तो हुन नदिने गरी पार्टी परिचालन हुने बताए। कडा प्रतिस्पर्धा हुने स्वभाविक भए पनि जित एमालेकै हुने दाबी गुरुङले गरे।
उनले भने, ‘उपनिर्वाचन हुन्छ भनेरै त होइन। तर पार्टीले आफ्नो आन्तरिक गतिविधि बढाएको थियो। वडावडामा हाम्रा कमिटी मजबुद छन्। डटेर पार्टीका लागि खट्ने साथीहरूको नेतृत्वमा कमिटीहरू बनाइएका छन्। त्यसैले विश्वास छ अब इलाममा एमाले निक्कै मजबुद भएर उठ्नेछ।’
चुनौती जे भए पनि निर्वाचन एमालेले नै जित्ने दाबी गर्छन जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक बुद्धि खनाल। उनले भने, ‘एमालेले चुनाव जित्छ। पार्टीले जिताउने उम्मेदवारलाई टिकट दिन्छ। अब नेकपा एमाले जिल्ला कमिटीले पार्टीका संगठित सदस्यको मनोभाव, भूगोल तथा गत निर्वाचनको मतलाई मध्यनजर गर्दै उम्मेदवार सिफारिस गर्नुपर्छ।’
एमालेलाई उम्मेदवार छान्न सकस!
इलाममा लामो समय एमालेका नेताद्वय झलनाथ खनाल र सुवास नेम्वाङमात्र उम्मेदवार बन्दा ओझेलमा परेका दोस्रो तहका धेरै नेता उम्मेदवार बन्न दाबी गर्ने देखिन्छ। पार्टीका खटिने नेताहरूको संख्या पनि धेरै छ। जसका कारण एमालेलाई उम्मेदवार चयन गर्न निक्कै सकस पर्ने देखिएको छ।
त्यसैले एमाले इलामले उम्मेदवारका आकांक्षीलाई सकेसम्म मिलाउने नभए केन्द्रमा पठाउने रणनीतिका साथ काम गर्ने भएको छ।
अहिले इलाम–२ मा नेकपा एमालेका तर्फबाट गणेश बराल, उदय राई, सुहाङ नेम्वाङ, उमेश गुरुङ, बुद्धि खनाल, रवीन्द्र सुवेदीलगायतको चर्चा छ।
आफूसँग काम गर्ने इच्छा शक्तिसहित पार्टीमा पुर्याएको योगदानले पनि उपयुक्त उम्मेदवार भएको दाबी गर्दै खनालले भने, ‘म दाबेदार हो। किनभने पार्टीको काममा म जुटेको कक्षा ३ मा पढ्दादेखि नै हो। त्यो बेलादेखिको पार्टीसँगको सम्बन्ध मेरो छ। पछि विद्यालय, कलेजमा मैले खेलेको भूमिका उस्तै छ। २०६२/६३ को आन्दोलन र त्यसपछिका संविधान सभाका निर्वाचन, संविधान जारी हुँदा संविधान सभा अध्यक्षको नजिक भएर काम गरेको।’
इलाम–२ को मत धार्मिकस्थल माङ्सेबुङका मतदातामा पनि निर्भर हुने बताउँदै उनले त्यस क्षेत्रसँगको आफ्नो सम्बन्ध मजबुद भएको दाबी गरे।
उनले भने, ‘इलाम–२ को मत धार्मिक क्षेत्र माङसेबुङ र धार्मिक गुरु आत्मनन्द लिङदेनसँग पनि जोडिएको छ। धार्मिक गुरु लिङदेनसँग मेरो व्यक्तिगत र पारिवारिक सम्बन्ध छ। त्यो मत मेरै पक्षमा आउने हुँदा परिणाम पनि राम्रो हुन्छ।’
त्यसो त खनालले केन्द्रमा पनि लबिइङ गरिरहेको उनको तर्कबाट खुल्छ। उनी भन्छन्, ‘पार्टीका महासचिवसँग मेरो सम्पर्क भएको थियो। उहाँले जिल्ला कमिटीले गरेको सिफारिसलाई पार्टीले अनुमोदन गर्ने भन्नु भएको छ। जिल्ला अध्यक्षसँग कुरा हुँदा पनि एकल व्यक्तिको नाममा सहमति जुटाउने प्रयास हुन्छ भन्नुभएको छ। आशावादी छु। नतिजा स्वागतयोग्य हुनेछ।’
लामो समय सुवास नेम्वाङको स्वकीय सचिव भएर काम गरेका खनालले नेम्वाङका पूरा नभएका धेरै सपनालाई पूरा गर्न पनि आफू योग्य भएको दाबी गरेका छन्।
विगतमा नेम्वाङसँग नजिक भएर काम गर्दा नेम्वाङले पार्टीका बारेमा गरेको चिन्ता, इलामको विकासका लागि चाल्ने कदमलगायतलाई पूरा गर्न पनि आफू उपयुक्त हुने दाबी उनको छ।
त्यसो त नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ पनि इलाम–२ का लागि अर्का दाबेदार हुन्। सुवास नेम्वाङ हुँदासम्म खासै चर्चामा नआएका उनी बुवाको देहान्तपछि गृहजिल्ला पुगेर बुवाको समपना पूरा गर्न जिम्मेवार भएर आएको बताएका थिए।
पार्टी नेतृत्वले आफूलाई माया गरिरहेको बताउने नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भइरहेको बताउँदै बुवाले पुरा नगर्न नसकेका कार्यभार पूरा गर्न आफू लाग्ने दाबी गर्दै आएका छन्। बेला बेलामा बुवाले पनि राजनीतिमा आउनुपर्छ भन्ने प्रस्ताव गरेको सुनाउने सुहाङ अहिले पार्टीका कार्यक्रममा नछुटाइ सहभागी हुने गरेका छन्। त्यसमा पनि पार्टी अध्यक्ष पुग्ने कार्यक्रममा उनी अध्यक्षकै सेरोफेरोमा हुने गर्छन्।
जिल्ला कमिटीका सदस्यहरूले पनि सुहाङलाई उपयुक्त पात्रकै रुपमा चित्रण गर्ने गरेका छन्।
जिल्ला कमिटीका एक सदस्यले भने, ‘इलाममा लामो समय पार्टी राजनीति गरेकालाई त यो प्रस्ताव उपयुक्त नलाग्ला। तर सुहाङले टिक पाए भने पार्टीले उनलाई सहयोग गर्छ। गर्नुपर्छ। योगदानको चर्चा आउला बुवाले गरेको योगदानलाई पनि सम्मान गर्न सुहाङ उपयुक्त नै पात्र हुन्।’ उनले काठमाडौंमा बसेर इलामका लागि काम गर्ने मान्छेको खाँचो रहेको पनि उनले बताए।
त्यसो त जिल्ला सचिव उमेश गुरुङको दाबी पनि उत्तिकै छ। ‘पार्टीका लागि लामो समयदेखि काम गरिरहेको छु। त्यसैले पनि मेरो दाबी छ। विगतमा पत्रकारितामा रहँदा र अहिले संगठनमा रहँदा पार्टीकै लागि खटिएको छु,’ उनले भने, ‘उम्मेदवारको नाम दर्ता गर्दा म पनि गर्छु। सुनेको छु साथीहरू केन्द्रसँगको समन्वयमा पनि हुनुहुन्छ रे। मैले त्यसो गरेको चाहिँ छैन। लामो समयदेखि खटिएको भएकाले पनि ममा केही घमण्ड पनि छ। पार्टीले मलाई विश्वास गरे म घात हुन दिनेछैन।’
उदय राई, रवीन्द्र सुवेदी पनि एमालेबाट उम्मेदवारका दह्रा आकांक्षी हुन्। राई यसअघि सन्दकपुर गाउँपालिकाको अध्यक्ष भएर काम गरे भने पछि सोही गाउँपालिकामा कांग्रेसका तुलाराम गुरुङसँग पराजित भएका थिए।
सुवेदी पार्टीको कार्यालय सचिव हुन्। युवा पुस्तामा राजनीति प्रति नयाँ क्रेज बनाएका सुवेदीले पनि आफूले अवसर पाउनुपर्ने दाबी गर्दै आएका छन्।
चर्चामा झलनाथ खनाल

लामो समय इलामको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा, संविधान सभामा निर्वाचित खनाल यस पटक भने आफैंले राजनीति गतिविधि सिकाएका नेकपा एमालेका इलाम अध्यक्ष महेश बस्नेतसँग पराजित भए।
एमाले छाडेपछि पराजित भएका खनाललाई उपनिर्वाचन अवसर हुने चर्चा पनि निक्कै चल्यो। तर अब भने त्यो विषय समाप्त भएको छ।
विगतमा एमाले इलामले नै खनाललाई एमालेमा फर्काउन प्रयास गरे पनि अब भने त्यो च्याप्टर क्लोज भएको एमाले सचिव गुरुङले बताए।
‘पार्टीलाई मजबुद बनाउन अभिभावक चाहिने भन्ने सोचका साथ एमाले इलामले खनाललाई पार्टीमा फर्काउन पहल गरेको हो। त्यो बेला उहाँले खासै पहल गर्नुभएन। अब भने त्यो च्याप्टर नै क्लोज भयो,’ गुरुङले भने, ‘हाम्रो जिल्ला अध्यक्षले पनि यसको पहल गर्नुभएको थियो। केन्द्रीय अध्यक्षसम्म पनि कुरा पुगेको थियो। अहिले भने परिस्थिति फेरिएको छ। अवसरकै लागि मात्र आउन खोज्नेलाई पार्टीले पनि हेर्ला।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले पनि बाहिर चर्चा भएजस्तो एमालेसँग नजिक भएको हल्ला सत्य नभएको दाबी गरेको छ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले गृहजिल्ला जाँदा जिल्लाबासी सबै राजनीतिक दलका नेताले इलामको प्रतिनिधित्व गर्नुपर्छ भने पनि आफूहरूले कुनै प्रतिक्रिया नदिएको बताए।
उनले भने, ‘अहिले सामाजिक सञ्जाल तथा मिडियामा आएका समाचारहरू हामीले देखेको, सुनेको र पढेको हो। तर, त्यसबारे कुनै छलफल भएको छैन। इलाम जाँदा नेकपा एमाले, नेपाली कांग्रेससहित सबै पार्टीका नेता तथा स्थानीयले तपाईं आउनुपर्यो भन्नुभएको हो। इलामका दुई गहना हुनुहुन्थ्यो अब तपाईं एकमात्र रहनुभयो। यो क्षेत्रको नेतृत्व गर्ने गरी आउनुहोस् भन्नुभयो। हाम्रो कुनै प्रतिकृया रहेन। त्यस्तो इच्छा पनि छैन। अहिले हामी त्यहाँको वस्तुस्थिति बुझ्ने काम गरिरहेका छौँ। बाहिर जे जस्तो चर्चा भएको छ हामीलाई सोधेर भएको छैन।’
कांग्रेसले सर्वेको नतिजा हेरेर मात्र उम्मेदवार टुंग्याउने
नेपाली कांग्रेसले पनि इलाम–२ को उपनिर्वाचन लक्षित गृहकार्य थालेको छ। कांग्रेसले इलामको उपनिर्वाचनलाई अस्तित्वको लडाइका रुपमा लिने गरेको छ। सत्तासिन दल हुँदा पनि तनहुँमा भोगेको पराजयको क्षति इलाममा जितेर तिर्ने रणनीति कांग्रेसको छ।
त्यसोत यो रणनीति पूरा गर्न त्यति सहज छैन। नेपाली कांग्रेस इलामका उपसभापति तथा महासमिति सदस्य खगेन्द्र देवानले उपनिर्वाचनमा कांग्रेस संयम भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
‘नेपाली कांग्रेस इलामलाई पनि चुनाव करिब करिब लागि सक्यो। उम्मेदवारीका लागि साथीहरू आआफ्नो प्रतिस्पर्धामा लागेका छन्। टिकट पाइसकेपछि पार्टीले उम्मेदवारको पक्षमा माहौल बनाउने काम गर्छ। जित्ने रणनीतिसहित मैदानमा उत्रने छ,’ देवानले भने।
इलामको वस्तुस्थिति फरक रहेको विश्लेषणसहित देवानले भने, ‘इलामको कथाव्यथा अलि फरक छ। त्यसमा पनि नेपाली कांग्रेसका लागि भिन्न र जटिल छ। यो जटिल अवस्थामा संयम भएर इमान्दारिताका साथ काम गर्न जरुरी छ।’
कांग्रेसले अहिले निर्वाचन क्षेत्रमा सर्वेक्षण भने गरिरहेको छ। पार्टीले गोप्य रुपमा परिचालन गरेका कार्यकर्ताबाट आएको नतिजाअनुसार निर्णय गर्ने नीति कांग्रेसले लिएको छ।
उनले भने, ‘जटिल परिस्थिति भएकाले हामीले अहिले संर्वेक्षण गरिरहेका छौं। गोप्य रुपमा भएको सर्वेक्षणको दुई चरणको काम सकिएको छ। अब फागुनको अन्तिम हप्तामा तेस्रो चरणको सर्वेक्षण सकिन्छ। त्यसकै नतिजाका आधारमा हामीले उम्मेदवार तय गर्ने हो।’
कांग्रेसमा पनि आकांक्षी उस्तै
कांग्रेसभित्र पनि उम्मेदवारका लागि उत्तिकै प्रतिस्पर्धा छ। उम्मेदवारीका लागि स्थानीय, जिल्ला तथा केन्द्रमा पहल गर्ने नेताको संख्या धेरै नै छ। यसअघि इलाम–२मा नेम्वाङसँग पराजित भएका पार्टीका जिल्ला सभापति डम्बर खड्का सबैभन्दा बलिया उम्मेदवार हुन्।
यसअघि पनि धाँदली भएर पराजित भएको महसुस गर्ने खड्का पार्टीले जसरी पनि गुमेको क्षेत्रलाई फिर्ता ल्याउन काम गर्ने बताउँछन्। अहिले भइरहेका सर्वेक्षणले पनि आफैंलाई सिफारिस गर्ने खालको नतिजा आउने विश्वास खड्काको छ।
कांग्रेस इलामका पूर्वसभापति केशव थापा पनि उम्मेदवारको होडमा छन्। ०५६ सालको निर्वाचनमा थापा इलाम–३ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भइसकेका व्यक्ति हुन्। ०७० को संविधान सभा निर्वाचनमा पनि इलाम–३ बाट विजयी भएका उनी ०६४ को संविधान सभा निर्वाचनमा भने इलाम–२ बाट सुवास नेम्वाङसँग पराजित भएका थिए। केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवासँग निकट मानिने थापाको यसपाली इलाम–२बाट उम्मेदवार बन्ने र चुनाव जित्ने योजना छ।
भेषराज आचार्य पनि कांग्रेसभित्र उम्मेदवारका अर्का दाबेदार हुन्। जिल्ला सभापतिमा खड्कासँग पराजित आचार्य पार्टीभित्रका बौद्धिक नेताका रुपमा परिचित छन्। पार्टीभित्रको सर्वेक्षणले आफूलाई उम्मेदवार बनाउनेमा आचार्य पनि ढुक्क छन्।
योसँगै पार्टीका पाका नेता वेनुपराज प्रसाईं, नगेन्द्रकुमार कुमाल, रमेश लिङदेन उम्मेदवार बन्ने होडमा छन्।
गठबन्धनमा रहेको कांग्रेसका लागि व्यवस्थापन पनि चुनौती नै छ। तर कांग्रेसले अन्य विषयमा साझेदारी गरेर उम्मेदवार आफैंले लिने र आफ्नो उम्मेदवारलाई गठबन्धनका दलले सहयोग गर्ने जनाएको छ।
गठबन्धनले निरन्तरता पाउने दाबी गर्दै कांग्रेस इलामका उपसभापति देवानले भने, ‘गठबन्धन निरन्तर जान्छ। गठबन्धनमा रहेका दलहरूले बार्गेनिङ पनि गर्छन्। यो स्वभाविक हो। तथापी विगतमा पनि यो क्षेत्रको उम्मेदवार कांग्रेसले ने पाएकाले अब पनि कांग्रेसले नै पाउँछ।’
देवानले राष्ट्रिय सभाको अध्यक्ष तथा अन्य क्षेत्रमा हुने नियुक्तलगायतका विषयमा गठबन्धनका साझेदारसँग सहमति हुनेछ।