News Griha :: न्यूजगृह
सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास बाहिर टाँगिएको डोरी प्रहरीले हटायो

काठमाडौं– फुटपाथ प्रयोग गर्ने पैदलयात्रीलाई हिँड्न समेत नमिल्ने गरी सिंहदरबार, संसद् भवन र प्रधानमन्त्रीको सरकारी निवासको पर्खाल बाहिर लगाइएको डोरी प्रहरीले हटाएको छ। 

लघुवित्त तथा वित्तीय संस्थाबाट ऋण लिएपछि समस्यामा परेका ऋणीहरु सोमबार संसद् भवन प्रवेश गरेपछि सुरक्षाका लागि भन्दै प्रहरीले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्रीको निवास बाहिर डोरी टाँगेको थियो। डोरीको बीचबीचमा ब्यानर टाँगेर ‘निषेधित क्षेत्र’ लेखिएको थियो। 

निषेधित क्षेत्र भन्दै डोरी टाँगिएपछि फुटपाथ प्रयोगकर्ता समेत सडकबाट हिँड्नुपर्ने अवस्था सिर्जना भएको थियो। सरकारले स्वतन्त्रतापूर्वक हिँड्न समेत नदिएको भन्दै नागरिकस्तरबाट ब्यापक विरोध भएपछि प्रहरीले डोरी हटाएको हो। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले सुरक्षा व्यवस्था कायम गर्नका लागि अल्पकालीन उपायअन्तर्गत लगाइएको डोरी हटाइएको बताएका छन्।  

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:३३
Weather Update