
काठमाडौं– हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा छिट फुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।













