
काठमाडौं– प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरी अन्तर्गत कारबाही गरेको छ।
काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १ सय ८३ अनलाइन सञ्चार माध्यम तथा वेब पोर्टललाई कारबाही गरेको जनाएको हो।
कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ।
'स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिवद्धतासहित जवाफ पेस भएको थियो। मिडियाका रूपमा दर्ता/सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ,' काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो। बैठकले हुबहु प्रवृत्ति निरूत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ।














