News Griha :: न्यूजगृह
डीडीसीको दूधमा बढेको मूल्य आजदेखि लागु, प्रतिलिटर कति रूपैयाँ बढाइयो ? 

काठमाडौं— सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि लागु हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले उपभोक्ताका लागि ४ प्रकारको दूधको मूल्यमा ११ देखि १६ रूपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाइसकेका छन् ।

‘मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने बिहीबार (आज) बाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउनेछन्,’ डीडीसीका महाप्रबन्धक सन्जिव झाले भने ।

उनको भनाइमा अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रूपैयाँ बढेर ९७ रूपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रूपैयाँ थियो ।

त्यस्तै गाईको दूधको मूल्य प्रतिलिटर १४ रूपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रूपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेर ९० रूपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रूपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रूपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रूपैयाँ बढाएको थियो जसअनुसार किसानले प्रतिलिटर ५६ रूपैयाँ ४० पैसाबाट बढेर ६५ रूपैयाँ ५० पैसा पाउन थालेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:२८
Weather Update