
काठमाडौं– हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतो प्रहरीसँगको धकेलाधकेलका कारण घाइते भएका छन्। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ।
महतोसहित अनको अभियानका नेताहरू बुधबार दिउँसो काठमाडौंस्थित माइतीघर मण्डालाको निषेधित क्षेत्र तोड्न भन्दै त्यसतर्फ गएका थिए। जुलुससहित माइतीघरतर्फ हिँडेका उनीहरुलाई प्रहरीले काठमाडौंको भद्रकाली पुगेपछि रोकेको थियो।
भद्रकालीमा महतोसहित उनको अभियानका नेता र प्रहरीबीच धकेलाधकेल भएको थियो। प्रहरीले महतोलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो।
प्रहरीले नियन्त्रणमा लिने क्रममा महतो घाइते भएको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको राष्ट्रिय मुक्ति आन्दोलनमा आबद्ध किशोर गुरुले जानकारी दिएका छन्।
लोसपाको वरिष्ठ नेता रहेका महतोले फागुन १४ गते उक्त पार्टी परित्याग गरेका थिए। महतोले राज्यबाट पछाडि पारिएका मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताउँदै आएका छन्।