
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सङ्क्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) शीघ्र टुङ्गोमा पुर्याउन माग गरेका छन्।
डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा नपुर्याए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न सुझाव दिँदै उनले यसअघि भएका सम्झौताहरू समेत कार्यान्वयन गर्न माग गरेका छन्।
यस्तो छ डा. केसीको विज्ञप्ति
आमजनतासँग जोडिएका हाम्रा माग तुरुन्त पूरा गर्न पुनः आव्हान गरिन्छ । अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुनेछौं भन्ने जानकारी गराउन चाहन्छौँ।
मागहरूः
१) सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याइयोस्।
२) भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गरियोस्।
३) यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस्।
– हामीसित सम्झौता भएबमोजिम गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइयोस्। चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस्। जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोलियोस्।
–१०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरू शुरु गरियोस्।
– विश्वविद्यालय र प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस्।
– एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्।
– सरकारी अस्पतालहरूमा आवश्यक दरबन्दी थप गरियोस्।
५) औषधि उपचार निशुल्क गरियोस् ।
६) निजी क्षेत्रबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत डाक्टर र नर्स लगायत सबै तहका स्वास्थ्य कर्मीको न्यूनतम तलबसुविधा सरकारी संस्थामा कार्यरत डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मी सरह गर्न विधेयक बनाई लागू गरियोस्।













