News Griha :: न्यूजगृह
म्याकुरीमाथि कुटपिट प्रकरणः शर्मिला वाइबा पक्राउ

काठमाडौं– आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन्। कुटपिट तथा अङ्गभङ्ग मुद्दामा उनी सिन्धुपाल्चोकको बाह्रबिसेबाट बुधबार बिहान पक्राउ परेकी हुन्।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारीपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो। वाइबाविरुद्ध कलाकार पवन खतिवडा (म्याकुरी)ले प्रहरीमा जाहेरी दिएका थिए। कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए। पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ। सोही विवादमा आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा इन्ट्री भएकी हुन्।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:५४
Weather Update