News Griha :: न्यूजगृह
ओली भन्छन्– एमाले सरकार फेर्ने खेलमा छैन
केपी शर्मा ओली (फाइल तस्बिर)

विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार फेर्ने खेलमा नरहेको बताएका छन्। अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको ओलीको भनाइ छ। 

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘हामी मिसन ८४ मा केन्द्रित छौं। मुलुकको विकास गर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएका छन्। जनतामा रहेको निराशालाई आशामा बदल्नु छ। प्रतिपक्षमा रहेको अवस्थामा हामीले गठबन्धन सरकारलाई सुझाव दिँदै आएका छौँ। तर गठबन्धनले सुनिरहेको छैन।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकार, सत्ता टिकाउन लालायित रहेको टिप्पणी गरे। ‘कांग्रेस अब पुरानो अवस्थामा रहेन। पहिलेको जस्तो छैन। थोत्रो भएको छ कांग्रेस,’ ओलीले भने। 

कांग्रेसले संविधान संशोधनको विषय अघि बढाएर ‘ब्लाइन्ड फायर गरेको’ ओलीले टिप्पणी गरे। 
‘संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी, विषयगत मुद्दा चाहियो। ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ?’ अध्यक्ष ओलीले भने, ‘कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको छ।’

संविधान संशोधन गर्न अघि बढेको कांग्रेसले आफ्नो हैसियत बिर्सिएको ओलीको भनाइ छ। 

फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले जनताको मृत्युको कारण देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताए। मन्त्रीका कारण जनताको मृत्यु भएको अवस्थामा राजीनामा दिनुपर्ने उनले बताए।

गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै ओलीले मन्त्रीको कारण जनताको मृत्यु भएको अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:२२
Weather Update