News Griha :: न्यूजगृह
संघीय निजामती ऐन संसद्‌मा दर्ता गर्ने तयारीमा छौँ: प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्‌मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको जानकारी दिए। अब उक्त विधेयक सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको उल्लेख गर्दै सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरे। 

उनले भने, ‘मेरो नेतृत्वको सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण, सबै तहमा विकास चुस्त र गतिशील बनाउने, लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रिय हितको रक्षा गर्न प्रतिबद्ध सरकार रहेको छ।’

प्रधानमन्त्री प्रचण्डले ३ तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए। 

उनले भने, ‘३ तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको बजेट सिलिङ, विषय क्षेत्र र प्राविधिक जटिलताको आधारमा आयोजना वर्गीकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।’   

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:१०
Weather Update