बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुर– मकवानपुरको बकैया गाउँपालिका– ७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
मङ्गलबार दिउँसो घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल तितुङमाथि ढलेको थियो। तत्काल उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल लगियो तर त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा बुधबार बिहान तितुङको मृत्यु भएको हो।
मृतक तितुङको शव अस्पतालमै छ । घटना बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० १४:१८













