News Griha :: न्यूजगृह
को बन्ला धितोपत्र बोर्डको अध्यक्ष, यस्ता छन् सर्त

काठमाडौं–  नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने भएको छ। रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपूर्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको छ। सिफारिस समितिले बुधबार सूचना जारी गर्दै रिक्त रहेको पदमा पदपूर्ति गर्न आवेदन दिन सूचना जारी गरेको हो।

प्रथम पटक मिति २०८० फागुन १६ प्रकाशित सूचना भएको मितिबाट १५ दिनभित्र आवेदन  दिइसक्नुपर्ने सूचनामा उल्लेख छ। आवेदन दिन सकिने अन्तिम मिति यही फागुन ३० गतेसम्म मात्रै रहेको छ। 

कति चाहिन्छ योग्यता ?

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा पनि स्नातकोत्तर हासिल गरी, धितो पत्र बजार व्यवस्थापन, पूँजी विकास, आर्थिक वित्तिय, वाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्ष काम गरेको प्रतिष्ठित व्यक्ति हुनुपर्ने एउटा सर्त छ। 

त्यसैगरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १० बमोजिम नेपालको नागरिक, उच्च नैतिक चरित्र, धितो पत्र बजार व्यवस्थापन, पूँजी विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको  पेशागत अनुभव हासिल गरेको हुनुपर्ने सर्त तोकिएको छ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ ( संशोधन सहित) ले तोके बमोजिम तीन वर्ष उमेर पुरा भई पैँसठ्ठी वर्ष उमेर नाघेको भनिएको छ।

कस्ताले आवेदन दिन पाउँदैनन्

भ्रष्टाचार सम्बन्धी शुद्धिकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक बस्तु वा वन्य जन्तु संरक्षण, सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाए पाएको व्यक्ति योग्य हुने छैनन्।

त्यसैगरी, प्रचलित कानुन बमोजिमको सूचीमा समावेश भई त्यस्ता सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको

र मानसिक सन्तुलन ठीक नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउने छैनन्।

कागजात के चाहिन्छ

दुई प्रति पासपोर्ट साइजको फोटो, नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिँदा व्यावसायिक कार्ययोजना उल्लेख गरी दरखास्त गरेको हुनुपर्ने भनिएको छ।  

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:३४
Weather Update