
काठमाडौं– माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।
बुधबार बिहान बसेको स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। यसअघि राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड गर्दा सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका शीर्ष नेताबीच अध्यक्ष कांग्रेसलाई दिने मोटामोटी सहमति भएको थियो।
सोही अनुरूप कांग्रेसले नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाएको थियो। तर राष्ट्रिय सभा निर्वाचनमा कोशीमा गठबन्धनकै उम्मेदवार पराजित र आगामी संसदीय निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने भनेर कांग्रेस महासमितिले निर्णय गरेपछि गठबन्धनमा तरंग उत्पन्न भएको हो।
माओवादीको बुधबारको निर्णयले सत्ता गठबन्धनमा खटपट देखिएको संकेत मात्रै गर्दैन पुष्टिसमेत गर्छ।