1689486152.jpg)
पर्वत– पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको स्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए।
श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ। सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा थिए भने प्रतिमान पौडेल पनि तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामै थिए।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार माता पाथिभरा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै बचतकर्ता अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए। सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गर्दा उक्त सहकारीमा ११ करोड ११ लाख ९० हजार तीन सय २२ हिनामिना गरेको आरोप बचतकर्ताको छ । सहकारीका अन्य २३ जना सञ्चालक भने फरार सूचीमा छन्।
तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका दुईजना र ग्रामीण विकास कृषि सहकारी संस्थाका छ जना पुर्पक्षका लागि थुनामा रहेका छन्।













