News Griha :: न्यूजगृह
आजको माओवादी स्थायी कमिटीले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन्।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुंगो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

नेताहरूका अनुसार बैठकले प्रदेश इन्चार्जहरूको हेरफेर गर्ने तयारी छ । एक नेताका अनुसार प्रदेश इन्चार्जका लागि कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव भएको छ।
 
‘प्रदेशका इन्चार्ज र सहइन्चार्जहरूको नाम स्थायी समितिले टुंगो लगाउने तयारी छ,’ ती नेताले भने। 
माओवादीमा राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र आसन्न उपनिर्वाचनका विषयमा विवाद भएको छ।
  
वर्तमान सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसभित्र वर्तमान गठबन्धनका विषयमा विभिन्न धारणाहरू रहेको बाहिर आएपछि माओवादी केन्द्रका नेताहरूले आक्रोस पोखेका हुन् । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्नुपर्ने, उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने लगायत प्रस्तावहरू माओवादीभित्र उठेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०९:१६
Weather Update