
काठमाडौं– सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै फागुन १६ र १७ गते नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय छलफलमा हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन्।
यस्तै, सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीच नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युतसम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थ सचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।
बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।