
काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई फिर्ता ल्याउन नेपाल सरकार रुसी सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। सी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदको भनाइ छ।
रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा छलफल गर्दै मन्त्री साउदले भने, ‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ।’
मन्त्री साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकप्रति राज्यको दायित्व रहेको बताए। रुसमा रहेका नेपालीलाई फिर्ता ल्याउन कुनै कमि कमजोरी नहुने मन्त्री साउदले उल्लेख गरे।
‘कानुनी रुपमा गएको भए हुन्थ्यो। गैरकानुनी रुपमा गएका छन्। जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ। आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ,’ मन्त्री साउदले भने, ‘उहाँहरुलाई फिर्ता ल्याउन कुनै पनि कमि कमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु। गरिरहने छु।’
मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए। रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए।
परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए। उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रह समेत गरे। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति एकिन गर्न सहज हुने साउदको भनाइ थियो।
रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा मन्त्री साउदले जोड दिए। परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए। उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए।
साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए।
उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए। मन्त्री साउदले नेपाली नागरिकको शव फिर्ताका सम्बन्धमा पनि नेपाल सरकारले रुस सरकारसँग निरन्तर अनुरोध गरिरहेको छ।