
काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ। धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटकपटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए। उनले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताएका थिए।
मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए। त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो।
नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ। तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।
धरान बजारबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । हवाई नीति, २०६३ मा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने प्रावधान रहेको छ ।
यातायातको सहज उपलब्धता र धरान क्षेत्रको भौगोलिक अवस्थितिले पनि 'वान वे अप्रोच' मात्र सम्भव रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको जनाएको छ। साथै विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवधानले धरानमा विमानस्थल बनाउन सम्भव नभएको निष्कर्ष निकालेको छ।













