
काठमाडौं– लघुवित्तबाट ऋण लिएका ‘पीडित ऋणीहरु’ संसद् भवन छिरेको घटनामा लापरबाही गरेको भन्दै संसद् भवनको सुरक्षार्थ तैनाथ प्रहरीको केन्द्रीय विशेष कार्यदल (एसटीएफ)को पुरै सेट परिवर्तन गर्ने तयारी गरिएको छ।
संसद् भवनको सुरक्षार्थ प्रहरीको एसटीएफका ८४ जना परिचानल गरिएको छ। जसमध्येका ३२ जनालाई जिम्मेबारीबाट हटाइ सकिएको छ। उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएर अरुलाई खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
‘लघुवित्तका ऋणीहरु संसद् भवन छिरेको घटनामा सुरक्षा व्यवस्थापनको कुरामा पनि लापरबाही देखियो। त्यसकारण एसटीएफको पुरै सेट परिवर्तन गर्ने तयारी छ,’ प्रहरी स्रोतले न्यूजगृहसँग भन्यो।
लघुवित्त पीडितहरु छिरेको गेटको सुरक्षामा तैनाथ प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ३२ जनालाई हटाइएको र अब बाँकी ५२ जनालाई पनि हटाउने तयारी गरिएको छ।
लघुवित्तको ऋणबाट पीडित बनेको भन्दै पूर्व झापादेखि पश्चिम कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र टोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका थिए।
प्रहरीले संसद् भवन प्रवेश गर्ने ४९ जनालाई नियन्त्रणमा लिएको थियो। अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाका सन्दर्भमा थप अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश राज मैनालीको नेतृत्वमा समिति समेत गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन्।













