News Griha :: न्यूजगृह
सर्लाहीको बरहथवामा मारिएका जयशंकरका परिवारलाई १० लाख रुपैयाँ दिइने

काठमाडौं– सर्लाहीको बरहथवामा गत पुस २० गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय जयशंकर साहका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका साहका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

गत पुस २० गते बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी अस्पताल बनाएर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयलाई लिएर प्रदर्शन भएको थियो।

उक्त निर्णय कार्यान्वयनको मागसहित नेपाली कांग्रेस र अन्य दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। त्यही क्रममा तनाव बढेपछि झडप हुँदा प्रहरीले चलाएको गोलीले साहको घटनास्थलमै ज्यान गएको थियो। 

त्यसबेलाको प्रदर्शनका क्रममा नगरपालिका कार्यालय र मेयर कल्पनाकुमारी कटुवालको घरमा पनि आक्रमण भएको थियो। उक्त आक्रमणपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठी, अश्रुग्यास र गोलीसम्म चलाएको थियो। 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:४५
Weather Update