
काठमाडौं– सरकारले बालकुमारी घटनामा दुई युवाको ज्यान जानेगरि भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरि सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ। कोरियन भाषा परीक्षा (ईपीएस) फारम भर्ने विषयमा प्रदर्शनमा हुँदा बालकुमारी दुई जना युवकको मृत्यु भएको थियो।