
काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार सापकोटाले बताए।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ।
उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन्। आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन्। उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन्। आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ।