News Griha :: न्यूजगृह
लघुवित्त पीडित संसद् भवन छिरेकोबारे छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन

काठमाडौं– निषेधित क्षेत्र तोडेर लघुवित्त पीडित नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्।

समितिलाई लघुवित्तका ऋणीहरू कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको एक अधिकृतले बताए। सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ। मिटरब्याज पीडित संसद् भवन परिसरमा कसरी प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरे पनि चासो देखाएका थिए । उनले आईजीपी बसन्त कुँवरलाई फोन गरेर यसबारे जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:३५
Weather Update